मोरङमा वि.स. १९९४ बाट पत्रिका प्रकाशनको काम भएको विभिन्न अभिलेखहरुले देखाएको छ । आदर्श माध्यमिक विद्यालयबाट प्रकाशित ‘चन्द्रोदय’ नै मोरङबाट प्रकाशित भएको पहिलो पत्रिका भएको दावी गरिएपनि पत्रिका कस्ले प्रकाशन गरेको थियो र कस्तो थियो भन्ने कुनैपनि दस्तावेज फेला पर्न सकेको देखिदैन ।
‘चन्द्रोदय’छापाखानाबाट मुद्रित भई पत्रिका प्रकाशन हुनुअघि हस्तलिखित पत्रिका प्रकाशित भएको र यसको सम्पादक कृष्णप्रसाद कोइराला रहेको अनुसन्धानदाताहरुद्धारा प्रकाशित सामाग्रीमा उल्लेख छ । 
मोरङमा विस २०१२ सालदेखि भने व्यवस्थित रुपमा पत्रिका प्रकाशन भएको अभिलेखहरुमा भेटिएको छ । ‘हुरी’ साप्ताहिक नै मोरङको पहिलो पत्रिका भएको जानकारहरु बताउँछन् । ‘हुरी’ साप्ताहिक हदराज बोहोराले प्रकाशन गरेका थिए ।  
मोरङमा २०१४ मा पहिलो पटक दैनिक प्रकाशन शुरु भएको थियो । ‘फिलिङ्गो’ पहिलो दैनिक पत्रिका हो भने २०१४ मै पहिलो हिन्दी पत्रिका ‘राजहंश’ प्रकाशन भएको पाईन्छ । महिला सम्पादक भएर प्रकाशन गरिएको पहिलो पत्रिका ‘शान्ति नेपाल’ हो भने पहिलो अङ्ग्रेजी पत्रिका ‘एशिया पोष्ट’ रहेको छ । मोरङबाट मात्र नभई नेपाल अधिराज्यबाटै प्रकाशित धिमाल भाषाको पहिलो पत्रिका ‘सोलोई’ उर्लाबारीबाट प्रकाशित भएको थियो । पहिलो मैथिली भाषी पत्रिका ‘मैथिली’ हो भने थारु भाषाको पहिलो पत्रिका ‘हौली’ रहेको छ । मोरङमा २०४७ सालदेखि बाल भित्तेपत्रिका प्रकाशन शुरुवात भएको थियोे । 
विद्युतिय सञ्चार माध्यममा २००७ साल मङ्सिर २८ गते विराटनगरबाट नेपाल प्रजातन्त्र रेडियोको स्थापना भएको थियो । यसको प्रसारण रघुपति जुटमिलबाट शुरु भएको थियो ।  नेपाल प्रजातन्त्र रेडियोको पहिलो उद्घोषक तारणीप्रसाद कोइराला थिए । प्रजातन्त्रको स्थापनापछि २००७ साल चैत २० गते विराटनगरमा स्थापना गरिएको नेपाल प्रजातन्त्र रेडियोलाई काठमाण्डौंमा लगियो र रेडियो नेपालका रुपमा प्रसारण शुरु भएको हो । २०४६ साल वैशाख १९ गते नेपाल टेलिभिजनले पहिलो पटक विराटनगरबाट क्षेत्रीय प्रसारण शुरु गरेको थियो । मोरङमा निजी क्षेत्रबाट सञ्चालित पहिलो एफएम ‘कोशी एफएम’ हो । यसले २०५७ सालदेखि प्रसारण शुरु गरेको थियो । 
पछिल्लो ६० को दशक सम्ममा दैनिक, साप्ताहिक र पाक्षिक गरि १२६ वटा सम्म रहेको पत्रिकाको संख्या विस्तारै घट्दै गएको छ । २०७८ सम्म आईपुग्दा मोरङबाट दैनिक, साप्ताहिक, मासिक र त्रैमासीक गरि ३० वटा पत्रिकाहरु नियमित प्रकाशन भएको पाईन्छ ।  सूचना प्रविधिको विकाससँगै रेडियो, टिभी, अनलाईन सञ्चालन बढेको छ । १५ वटा एफएम, एउटा टिभी, सूचना विभागमा दर्ता भएका अनलाइन तीन दर्जन हाराहारीमा रहेका छन् ।
मुख्यगरि पत्रिका, टिभी, रेडियो, अनलाइनहरु विराटनगर, रङ्गेली, रतुवामाई, उर्लाबारी, मिक्लाजुङ, पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, केराबारी, बेलबारी, सुन्दरहरैचाबाट सञ्चालित छन् ।
नेपाल पत्रकार महासंघ मोरङको सदस्य संख्या २०४ रहेको छ ।